काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । उनले जनमत पार्टीलाई सरकारमा ल्याउने प्रयास गरेको सत्तारुढ दलका नेताहरु बताउँछन् ।
१० पुसमा प्रधानमन्त्री भएका प्रचण्डले ९ जेठमा मात्र सरकारलाई पूर्णता दिएका थिए । तर जनमत पार्टीलाई सरकारमा ल्याउनुपर्ने भएकाले मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको एक नेताले बताए ।
मन्त्रिपरिषदले पूर्णता पाइसकेकाले जनमत पार्टी सरकारमा आउँदा माओवादी केन्द्रले एउटा मन्त्रालय छाड्नुपर्ने हुन्छ । एक नेता भन्छन्, ‘जनमतलाई सरकारमा ल्याउँदा माओवादीले एउटा मन्त्रालय छाड्नुपर्छ, कुन छाड्ने उसको विषय हो ।’
माओवादीबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा, संघीय मामिला तथा सामान्य प्रकाशनमन्त्री अमनलाल मोदी र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती छन् ।
स्रोतका अनुसार मन्त्री किरातीसँग प्रधानमन्त्री प्रचण्ड सन्तुष्ट छैनन् । सरकार छाड्नुपर्नेमा उनकै नाम पनि पर्न सक्ने माओवादीका नेताहरु बताउँछन् ।