काठमाडौं । देशको नीति निर्माण गर्ने थलो संसदमा हाम्रा जनप्रतिनिधिहरु कति मामुली विषयवस्तुमा किचलो गरेर बस्छन् भन्ने एउटा दृश्य आज देखियो । राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले प्रयोग गरेको सामान्य शब्दलाई लिएर सत्तारुढ माओवादीका सांसदहरुले हंगामा गरे, जबकि एकछिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैंले त्यही शब्द बोलेका थिए ।
प्रसंग थियो, भैंसी-राँगाको । भारतले नेपाललाई दिने भनेको मुर्रा राँगाले सामाजिक सञ्जाल तताइरहँदा आजको संसद बैठक नै यसले प्रभावित तुल्याएको हो । यस विषयलाई सबैभन्दा पहिलोपटक प्रधानमन्त्री दाहालले नै कोट्याएका थिए ।
सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले भारतबाट ‘भैंसी’ ल्याउने कुरा सात वर्षअघिकै रहेको प्रष्टीकरण दिए । तर, आफूलाई जोडेर मजाक बनाइएको गुनासो गरे ।
प्रचण्डले ल्याउने कुरा सात वर्षअघिकै रहेको प्रष्टीकरण दिए । तर, आफूलाई जोडेर मजाक बनाइएको गुनासो गरे ।
प्रचण्डले भनेका थिए, ‘भैंसीको कुरा अहिले भएको होइन । सात वर्षअघि नै मुर्रा भैंसी ल्याउनेबारे समझदारी भएको रहेछ । आएकोमात्रै अहिले हो । सात वर्षअघिको रहेछ मुर्रा भैंसी । (हाँस्दै) मान्छेले मलाई भैंसी चढाएर हिँडाएका छन् ।’
प्रधानमन्त्रीको अभिव्यक्तिले संसदमा हाँसो गुञ्जिएको थियो । त्यसपछि सांसदहरुले भैंसी होइन, राँगा राँगा भन्दै सम्झाए । प्रधानमन्त्रीले पनि भने, ‘राँगा, राँगा, नै हो । मुर्रा हो मुर्रा ।’
जुन कुरा प्रधानमन्त्रीले बोल्दा रमाइलो माहोल भयो, त्यही कुरा प्रतिपक्षी सांसदले बोल्दा भने हंगामा गरियो । रास्वपाका सांसद शिशिर खनालको अभिव्यक्ति रेकर्डबाटै हटाउन माओवादी सांसदहरुले माग गरे ।
खनालले प्रधानमन्त्रीलाई कटाक्ष गर्दै भनेका थिए, ‘हामी चाहन्थ्यौं, उहाँ प्लेन चढेर आफूले नै उद्घाटन गरेको पोखरा विमानस्थलमा झर्नुहुन्छ होला भनेर । तर, दुर्भाग्यवस भैंसी चढेका कुराहरु आए ।’
खनालले यति भन्नासाथ माओवादी सांसदहरुले उठेर विरोध जनाए । प्रमुख सचेतक हितराज पाण्डेले उनको अभिव्यक्ति रेकर्डबाटै हटाउनुपर्ने बताएपछि होहल्ला सुरु भयो । एमाले सांसदहरु उठेर प्रतिवाद गरे । एमाले सांसद रघुजी पन्तले स्वयम् प्रधानमन्त्रीले पनि भैंसी चढाएको कुरा गरेको भन्दै हटाउने भने उनको पनि अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान लिए ।
निकै बेर भैंसी-राँगाको विषयमा कोलाहल भयो । सभामुखले खनालको अभिव्यक्ति रेकर्डबाट हटाइने बताए । तर, यसमा प्रतिपक्षी सांसदहरुले विरोध गरे । उनीहरुले प्रधानमन्त्रीले बोलेको पनि रेकर्डबाट हटाउनुपर्ने माग गरे ।
त्यसपछि सभामुखले यसरी प्रष्टीकरण दिए, ‘माननीय सदस्यहरु, आजको सदनमा छलफल चलिरहँदा हाम्रो देशको प्रधानमन्त्री सम्माननीय पुष्पकमल दाहाल प्रचण्डज्यू भारतबाट ‘भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डमा राखिनु उपयुक्त भएन । त्यसले गर्दा यस्तो शब्द हटाउनु उपयुक्त हुन्छ भनेर रुलिङ गरेको छु । जहाँसम्म प्रधानमन्त्री बोल्दा मलाई पनि भैंसी चढाएका थिए भन्ने कुराहरु हाम्रो रेकर्डमा आज उहाँ बोल्दाको रेकर्डमा आएको छ । भैंसी म पनि चढेको थिएँ, मलाई पनि भैंसी चढाएका थिए भन्ने उहाँको कुराहरु आएको छ । त्यसैले यसलाई त्यसरी एकै ठाउँ गाँसेर नहेरिकन भैंसी चढेर आएको हाम्रो प्रधानमन्त्री भारतबाट भन्ने रेकर्ड चाहिँ संसदको इतिहासमा त्यस्तो उचित हुन्न भनेर मैले रुलिङ गरेको अनुरोध गर्दै माननीयज्यूहरु बसौं ।
सभामुखको यो प्रष्टीकरणपछि संसद बैठक सुचारु भएको छ ।