टिकट काटेर जहाज चढ्न गएका यात्रुलाई विमानस्थलमै रोक्ने नेपाल एयरलाइन्सका एक कर्मचारीलाई पर्यटन मन्त्रालयले कारबाही गरेको छ।
मन्त्रालयका अनुसार बुधबार काठमाडौं–ताप्लेजुङ उडानका लागि निगमको टिकट काटेर बोर्डिङ पाससहित जहाजको ढोकामा पुगेका ठाकुर सिंह भण्डारीलाई एयरलाइन्सका कर्मचारीले फर्काएका थिए।
पर्यटनमन्त्री सुदन किरातीले काठमाडौंका इन्चार्ज गगनबहादुर चन्दले यात्रु रोकेको भन्दै कारबाही गरेर ताप्लेजुङ सरूवा गरेको बताए।
मन्त्री किरातीले फेसबुकमार्फत् लेखेका छन्, ‘बृद्ध ठाकुरसिंह भण्डारीलाई विमानस्थलबाट सिस्टममा नाम नभएको भनेर घर फर्काइएको घटनाको गुनासो आएको थियो। हामीले इन्चार्ज चन्दलाई सोधपुछ गर्दा चित्त बुझ्दो जवाफ नआएपछि काठमाडौंबाट ताप्लेजुङ विमानस्थलमा सरूवा गरेका छौं। थप अनुसन्धान जारी छ।’