काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका पूर्वसांसद रेशम चौधरीले आममाफी पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित १९ जनाको कैद सजाय माफी दिएका हुन् ।
मन्त्रिपरिषद्ले आइतबार बिहानै रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिस बमोजिम टोपबहादुर बुढा सहित १९ जनालाई संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । पाँच वर्ष ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।
डिल्लीबजार कारागारका जेलर खड्गराज शर्माका अनुसार रेशमलाई आममाफी दिने राष्ट्रपतिको निर्णय गृह मन्त्रालयबाट कारागार व्यवस्थापन विभाग हुँदै पत्र आएपछि कार्यान्वयन हुनेछ । सम्भवतः भोलि १० बजे नै उनी छुट्ने छन् ।
रेशमको परिवारमा भने खुसी छाइसकेको छ । ‘हामीले त अदालतबाटै न्याय होस् भन्ने चाहेका थियौं’, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेकी चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठले खुसीभावमा अनलाइनखबरसँग भनिन्, ‘आज उहाँलाई कारागारबाट बाहिर ल्याउन सफल भएका छौं ।’