कैलालीको कैलारी गाउँपालिकामा पालिका विरुद्घ नाराबाजी गरिएको छ।
केही वडाका वडाध्यक्षसहित नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले कार्यालयमा नाराबाजीका साथै कार्यलय घेराउ गरेका हुन्। कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरिरहेको गाउँपालिकामा केही वडाध्यक्ष सहित कांग्रेसकै असन्तुष्ट पक्षहरुले नाराबाजी गरेका हुन्। बजेट विनियोजनमा अध्यक्ष रामसमझ चौधरीले मनलाग्दी गरेको उनिहरुको आरोप छ।
त्यसका साथै गाउँपालिकामा सुशासन नभएको तथा अपारदर्शी रूपमा खर्च हुने गरेकाले गाउँपालिकामा नाराबाजीका साथै कार्यालय घेराउ गरिएको गाउँपालिकाको –६ कावडाध्यक्ष प्रेमबहादुर चौधरीले बताए। पालिकाले वडालाई सोझै डल्लो बजेट दिनुपर्ने तथा वडाले खर्च गर्न पाउनुपर्ने माग राखेको चौधरीको भनाइ छ।
असन्तुष्ट समूहको नेतृत्व पालिका प्रवक्ता समेत रहेका वडा नंम्बर– ७ का वडाध्यक्ष दीपेन्द्र बमले गरेको बताइएको छ। तनाब उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी समेत परिचालन गरिएको छ।
विरोधपछि नेपाली कांग्रेसका जिल्ला सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज चौधरी, नेतृ रीता चौधरी, पालिका सभापति कृष्ण चौधरीसहित पालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भागवती चौधरी लगाएत वडाध्यक्षहरु र असन्तुष्ट पक्षबीच छलफल चलिरहेको छ।