पूर्व राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन गरिएको छ। सोमवार धनगढी रङ्गशालामा हजारौं नागरिकले अभिनन्दन गरेका हुन्। पूर्व राजा बुहारी र नातिनीसहित आइतवार धनगढी आइपुग्नु भएको हो। उहाँहरू नेपालगञ्जबाट सडक मार्ग हुँदै धनगढी पुग्नु भएको हो।
राजपरिवारलाई अभिनन्दन गर्न धनगढीमा पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा एक हजार एक सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरिएको थियो। सुरूमा जेठ ६ गते कार्यक्रम तय भए पनि नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द गर्ने भनपछि अभिनन्दन समारोह सोमवारका लागि सरेको हो।
पूर्व राजाले के भन्नुभयो?
पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ। उहाँले वर्तमान युग प्रविधि र तीव्र विकासको युग भए पनि नेपाल र नेपालीले त्यो अनुभव गर्न नपाएको बताउँनु भएको छ। पूर्व राजाले नेपालमा भएको स्रोत साधन र सामर्थ्यद्वारा युग अनुकुल परिवर्तन र विकास गर्न सम्भव भए पनि त्यो हुन नसक्नु मुलुक र जनताका लागि दुर्भाग्यको विषय भएको बताउँनु भएको छ। उहाँले भन्नु भयो, ‘अब सोच्ने बेला आयो। कस्तो राष्ट्रिय सोच हामीले लिने गहिरिएर दिलैदेखि नेपाली भएर सोच्नु पर्छ।’
पूर्व राजाले देशभन्दा ठुलो केही नभएकाले नेपालीलाई नै देशमा कस्तो व्यवस्था रहने भन्ने निर्णय गर्ने जिम्मेवारी दिनुपर्ने बताउँनु भयो। राजनीतिक दलका नेताहरू तर्फ लक्षित गर्दै आजको आवश्यकतालाई नदेखेर कुरा बटारेर, अल्मल्याएर, निषेध गरेर कोठे र ओठे जवाफ फर्काएर देशको स्थिति नसुध्रिने पूर्व राजाले बताउँनु भएको छ। पूर्व राजाले भोलिको सुन्दर सपनालाई साकार तुल्याउन नेपाली जनातालाई नै जिम्मा दिनुपर्ने बताउँनु भएको छ।
पूर्व राजा धनगढीको रूवस होटेलमा बस्नु भएको छ। उहाँले धनगढीका धार्मिक स्थलको भ्रमण र दर्शन गर्ने कार्यक्रमसमेत रहेको सञ्चार संयोजक ललित जोशीले बताए।Dinesh khabar