प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले रौतहटस्थित चन्द्रनिगाहापुरको माछापुच्छ्रे बैंकमा सर्वसाधारणको ९ लाख रुपैयाँ गायब गरिएको भन्दै दोषीउपर कारबाही गर्न माग गरेका छन्।
सोमबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य तिमल्सिनाले भने, ‘अत्यन्त बिडम्बनाको घटना छ, रौतहटको चन्द्रनिगाहापुरमा माछापुच्छ्रे बैंकमा एउटा किसानले छोरीको विवाह गर्नलाई वृन्दावन नगरपालिका वडा नं. ३ रामेश्वर यादवले माछापुच्छ्रे बैंकमा १२ लाख रुपैयाँ जम्मा गरियो। जम्मा भएको रेकर्ड मोबाइलमा आयो। झिक्न जाँदा उहाँको ९ लाख रुपैयाँ पैसा छैन। कसले ह्याक गरेर लग्यो। बैंकसम्म सुरक्षित छैन। त्यस्तो अपराधीलाई यथाशिघ्र कानुनी कठघरामा ल्याएर कारबाही गरेर तत्काल त्यो पैसा बैंकले उपलब्ध गराएर दोषीलाई कारबाही गर्न माग गर्न चाहन्छु।’
प्रतिनिधि सभा सदस्य दामोदर पौडेल ‘बैरागी’ले गैरसरकारी संस्थाहरूले विदेशका विभिन्न व्यक्ति र संस्थाहरूमार्फत् सहयोग लिएर देशमा विपद्, भोकमरी र गरिबी निवारणमा सहयोग गर्ने गरेको भए पनि त्यस्ता सहयोगमा समेत सरकारले कर लगाउने
गरेकाले कर छुट गर्न माग गरेका छन्।
सोमबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य पौडेलले भने,‘गैर सरकारी संस्था महासंघ अन्तर्गतका संस्थाहरूले देश र विदेशका विभिन्न व्यक्ति र संस्थाजस्ता दातृ राष्ट्र र संस्थाले दिएको सहयोग आफू माध्यम बनेर विपद्, भोकमरी, गरिबी, भेदभाव निवारणका लागि उपयुक्त ठाउँमा सरकार र स्थानीय तहसँगको सहकार्य र कानूनतः निःशुल्क सहयोग उपलब्ध गराएको हुन्छ। तर सरकारले यसरी सहयोग गरेका सामग्रीको समेत भ्याट लगाउने गरेकाले सहयोग रोकिने अवस्था छ। यसलाई ध्यान दिनुपर्यो।’
प्रतिनिधि सभा सदस्य प्रतिक्षा तिवारीले मधेश प्रदेशका विभिन्न ठाउँहरूमा खानेपानीको हाहाकार भएको भन्दै खानेपानी समस्या समाधान गर्न माग गरिन्।
उनले भनिन्, ‘जनकपुरधाम लगायत मधेसका विभिन्न ठाउँमा खानेपानी कल सुक्न थालेको छ। खानेपानीको हाहाकारको समस्या पैदा भएको छ। तसर्थ अबिलम्व खानेपानीको समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु।’