आफूले चलाएको सहकारीबाट निक्षेपकर्तालाई रकम फिर्ता दिन नसकेपछि फरार भएका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई अध्यागमन विभागले निगरानी सूचीमा राखेको छ।
विभागका महानिर्देशक झलकराम अधिकारीका आइतबार मेयर नेपालीसहित चार जनालाई विदेश जानसक्ने भन्दै निगरानी सूचीनमा राखिएको हो।
‘उहाँहरूले सहकारीबाट करोडौं रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको र शुक्रबारदेखि सम्पर्कविहीन भएको खबर गृह मन्त्रालयबाट आएको थियो। देश छोडेर भाग्न सक्ने भएकाले त्रिभुवन विमानस्थलसहित हाम्रा मातहतका कार्यालयलाई उनीहरूको निगरानी गर्न निर्देशन दिइएको छ।’
इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाली शुक्रबारदेखि सम्पर्कविहीन भएका हुन्।
नेकपा (एमाले) बाट नेपालीले २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन्। उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बाग्लुङ बजारमा छ भने शाखा कार्यालयहरू पोखरा र बाल्गुङको हटिया र बुर्तिबाङ बजारमा छन्।
एक महिनाअघि उनले एक विज्ञप्ति जारी गर्दै धेरै जना निक्षेपकर्ता रकम फिर्ता लिन आएकोले भुक्तानी दिन नसकिएको बताएका थिए। उनले बचतकर्तालाई धैर्य गर्न अनुरोध गरेका थिए।
बुर्तिवाङ बजारमा दरबार होटल पनि सञ्चालन गर्ने नेपालीले पैतृक सम्पत्ति बेचेर भए पनि निक्षेपकर्ताको रकम फिर्ता गर्ने बताएका थिए।
उनी एकाएक सम्पर्कविहीन भएपछि बाग्लुङ प्रहरीले उनको खोजी गरिरहेको छ।
यसैबीच मेयर नेपालीका आफन्तले आइतबार इलाका प्रहरी कार्यालय बुर्तिवाङमा मेयरको एउटा पत्र दिएका छन्।
उक्त पत्रमा आफूलाई धेरैले फोन गरेर तनाव दिएकाले केही दिन आराम गर्ने उल्लेख गरिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजेश अधिकारीले बताए।
‘उहाँका आफन्तले हिजो त्यो पत्र हाम्रो अफिसमा ल्याएर छोडेका रहेछन्। हामी उहाँलाई खोजिरहेका छौं,’ अधिकारीले भने।