सुदूरपश्चिमका मुख्यमन्त्री कमलमबहादुर शाहले सरकार गठनको ३ महिनापछि शनिबार मन्त्रिपरिषद् विस्तार गरे।
तर, उनले पूर्णता भने दिन सकेनन्।
कृषि मन्त्रालय छुट्टयाइएको नागरिक उन्मुक्ति पार्टी सरकारमा जान अनिच्छुक देखिएपछि मन्त्रिपरिषद् अपूर्ण देखिएको हो।
‘हामी उपेक्षितजस्तो भयौं। उहाँहरू अन्तिमसम्म पनि कृषि मन्त्रालय दिन्छौं। सरकारमा आइदिनुप¥यो भन्दै हुनुहुन्थ्यो,’ नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले भने, ‘हामी सरकारमा जाने वातावरण बनेन।
नेकपा (एमाले)लाई विश्वासको मत नदिएर नागरिक उन्मुक्तिले कांग्रेसका शाह नेतृत्वको सरकार बनाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।
तर, ७ सांसद रहेको उन्मुक्तिले सम्मानजनक हैसियत नपाएको भन्दै सरकार बाहिरै बसेको हो।
‘हामीले दुई मन्त्री र एक राज्यमन्त्री मागेका थियौं, अन्तिममा एउटामात्रै मन्त्रालय दिने भनेपछि जानुको अर्थ देखेनौं,’ चौधरीले भने, ‘अन्तिममा केन्द्रबाट पनि केही निर्देशन पाएनौं।’
नागरिक उन्मुक्तिलाई सरकारमा ल्याउन सुदूरपश्चिम प्रदेशका सत्ता साझेदार दलहरू छलफलमै छन्। चौधरीले पनि आजै जानेनजाने टुंगो लाग्ने बताए।
‘आज केन्द्रमा पनि छलफल भएर निष्कर्ष आउँछ होला। सम्भवतः हामी सरकार बाहिरै बस्छौं। केन्द्रमा सहमति भएर जाने कुरा भयो भने कुरा बेग्लै हो, यहाँ सांसदहरूको त्यही राय छ,’ चौधरीले भने।
सुदूरपश्चिमा नागरिक उन्मुक्तिको इन्दिरा गिरी, कैलाश चौधरी, खुशीराम डगौरा थारू, घनश्याम चौधरी, रामेश्वर चौधरी, लक्ष्मणकिशोर चौधरी, टीका थापा सांसद छन्।
शनिबार कांग्रेसबाट पृथ्वीबहादुर सिंहले आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिए।
माओवादीबाट झपटबहादुर साउद सामाजिक विकासमन्त्रीको, रमेशसिंह धामीले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको शपथ लिएका थिए। गीतादेवी मल्लले सोही मन्त्रालयको राज्यमन्त्रीको शपथ लिएकी थिइन्।