सुदूरपश्चिम प्रदेशको राजधानी सार्न लबिङ सुरु भएको छ। तत्कालीन नेकपा सरकारको पालामा १२ असोज २०७५ मा प्रदेश सभाले सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ मा पर्ने चुरेफेदीदेखि तेघरीको भावरसम्मको क्षेत्रमा बनाउने निर्णय गरे पनि कार्यान्वयन हुन नसकेका वेला अहिले फेरि नयाँ प्रस्ताव आएको छ।
कांग्रेस सुदूरपश्चिम सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरले राजधानी गोदावरी नगरपालिकाकै चौकीडाँडामा बनाउन लबिङको नेतृत्व थालेका हुन्। प्रदेश सभाले पारित गरेको राजधानी भीमदत्त राजमार्गको छेउमा पर्छ भने अहिले नयाँ प्रस्ताव गरिएको क्षेत्र अत्तरिया बजारदेखि एक किलोमिटर पश्चिम (पूर्व–पश्चिम राजमार्गको छेउमा) पर्छ।
कैलाली क्षेत्र नम्बर ४ का सांसद रहेका बलायरले चौकीडाँडामा ६५ बिघा जग्गा रहेको र त्यहाँ रूख पनि काट्न नपर्ने भएकाले राजधानी त्यहीँ सार्न प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रिपोर्ट दिइएको बताए। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा संघीय सांसदको रायसुझाव लिन मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बलायरले प्रदेश राजधानी सार्ने विषयमा गोदावरी नगरपालिकाले समर्थन जनाएको र आफू त्यहाँको जनप्रतिनिधि भएकाले नेतृत्व लिएको बताए।
हाल सुदूरपश्चिम प्रदेश सरकारको अस्थायी मुकाम धनगढीमा छ। ‘धनगढी भारतीय सीमासँग जोडिएकाले राजधानी कति उचित कति अनुचित?’ बलायरले भने। तर, एमालेबाट प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले भने प्रदेश राजधानी विशुद्ध प्रदेश सभाको विषय रहेकाले कुनै व्यक्तिले भन्दैमा नहुने बताएका छन्।
‘कसले कहाँ राजधानी भनेर हुँदैन, प्रदेश सभाको दुईतिहाइबाट पारित भएर तेघरी भनिएको उनले बताएका हुन्। यदि प्रदेश सभालाई उपयुक्त छैन भन्ने लागेमा निर्णय गर्ला, तर हामी संघीय सांसदले भन्नुपर्ने कारण नभएको उनले बताएका छन्। यसअघि सुदूरपश्चिम सरकारले तेघरीमा राजधानीका लागि प्रदेशसभाले तोकेको चार किल्लाभित्रको ३० लाख सात हजार दुई सय ३७ वर्गमिटर जग्गाको स्वामित्व दिन संघ सरकारसँग माग गरे पनि कुनै निर्णय भएको छैन।
Dinesh khabar