६ दिनअघि हत्कडीसहित फरार भएका जबरजस्ती करणीका अभियुक्त शंक बुढा आज आइतबार बिहान पुनः पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कालिकोटले उनलाई पलाँता गाउँपालिका–७ स्थित दुर्सी खोलाबाट उनलाई पक्राउ गरेको हो। यसअघि बुढालाई पक्राउ गर्न गएका प्रहरीमाथि नै ढुंगामुढा भएपछि पक्राउ नगरी फर्किएका थिए। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक शिवराज बमले भाग्दै गरेको अवस्थामा बुढालाई पक्राउ गरिएको बताए।
जिल्लाको पलाँता गाउँपालिका–६ सैनका जबरजस्ती करणी आरोपी ३१ वर्षीय बुढालाई यही वैशाख २५ गते प्रहरी पक्राउ गर्न गएका बेला स्थानीय र बुढाका आफन्तले प्रहरी माथि ढंगामुढा गरेका थिए। बुढाले गत असोज ३१ गते गाउँकै एक महिलामाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ।
पीडित परिवारले गएको कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो। त्यसयता उनी फरार हुँदै आएका थिए। पक्राउ गर्न गएका प्रहरीमाथि ढुंगामुढा प्रहार हुँदा आरोपी फरार हुँदै आएका थिए।