काठमाडौँ : दार्चुलाको व्याँस गाउँपालिका–२ को हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर तीन जना यार्सागुम्बा संकलकहरु घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शनिबार (हिजो) राती करिब ८ बजेतिर हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर तीन जना यार्सागुम्बा संकलकहरु घाइते भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहका अनुसार हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएको खबर प्राप्त भएपछि अस्थाइ प्रहरी पोष्ट दुम्लिङबाट प्रहरी साहयक निरीक्षक नारायण विष्टको टोली घटनास्थलमा खटिएको उहाँले बताउनु भयो ।
चट्याङ लागेर दुँहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोहीँ गाउँपालिका–१ पिपलचौरी बस्पालीका ३७ वर्षीय आन सिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत बैशाख १९ गते व्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुङमा हिमपहिरो जाँदा ५ जना यार्सा संकलकको ज्यान गएको थियो भने ७ जनाले भागेर ज्यान जोगाएका थिए ।