वैशाख १० मा भएको उपनिर्वाचनमा राप्रपाले ३ वटै क्षेत्रमा उम्मेदवारी दियो। राप्रपाले कसैसँग पनि गठबन्धन गरेको थिएन।
तनहुँ क्षेत्र नम्बर १ मा शोभा गुरूङ, चितवन क्षेत्र नम्बर २ मा जीवलाल पुरी र बारा क्षेत्र नम्बर २ मा सोनालाल प्रसाद सा तेलीलाई राप्रपाले उम्मेदवार बनाएको थियो।
राप्रपाका यी तीनै जना उम्मेदवारले थौरै मात्रै मत पाएका छन्। उनीहरूको धरौटीसमेत जफत भएको छ।
तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्ले ३४ हजार ९ सय १९ मतसहित विजयी हुँदा राप्रपा उम्मेदवार गुरूङले २ सय १८ मत मात्रै पाएकी थिइन्।
चितवन २ मा रास्वपा सभापति रवि लामिछाने ५४ हजार ९ सय ७६ मतसहित निर्वाचित हुँदा यो क्षेत्रमा राप्रपा उम्मेदवार रहेका पुरीले जम्मा ३ सय ७५ मत मात्रै ल्याएका छन्।
बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४ सय १५ मतसहित निर्वाचित हुँदा राप्रपा उम्मेदवार तेलीले जम्मा १ सय १९ मत मात्रै ल्याएका थिए।
सदर मतको १० प्रतिशत मत नल्याए उम्मेदवारको धरौटी जफत हुन्छ। प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारले जनही १० हजार रुपैयाँ धरौटी राख्ने व्यवस्था छ।
गत मंसिरमा राप्रपाले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा ७ सिट र समानुपातिकमा ७ गरी १४ सिट जितेको थियो।