बैतडी –बैतडीको मेलौलीमा विद्युतको सवस्टेशन निर्माण कार्य पूरा भएको छ । ३३ केभी प्रशारण लाइनका लागि मेलौलीमा सवस्टेशन निर्माण कार्य पूरा भएको हो । तल्लोसोराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा विद्युत प्रशारण सहज बनाउनका लागि मेलौलीमा सवस्टेशन निर्माण गरिएको हो ।
२०७५ सालदेखि निर्माण कार्य शुरु गरिएको विद्युत सवस्टेशन निर्माण अन्तर्गत सिभिल निर्माणको सम्पन्न भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्र प्रमुख पवन भट्टले जानकारी दिए । अब इलेक्ट्रीकल निर्माणको काम सम्पन्न भएपछि सवस्टेशनबाट विद्युत वितरण हुने भट्टले बताए ।
मेलौलीमा सवस्टेशन निर्माणका लागि नेपाल विद्युत प्राधिकरण प्रादेशिक वितरण केन्द्र अत्तरियाले निर्माण कम्पनीसंग १२ करोडमा ठेक्का सम्झौता गरेको थियो ।
सवस्टेशन निर्माणसंगै मेलौली सम्म विद्युत प्रशारण लाइन समेत निर्माण भएको छ । प्रशारण लाइनमा केही पोल ढलेकाले त्यसलाई सुधार गर्न निर्माण कम्पनीलाई भनिसकेको विद्युत प्राधिकरण बैतडीका प्रमुख भट्टले बताए ।
मेलौलीमा निर्माण भएको सवस्टेशनको बैतडी प्रदेश सभा क्षेत्र नं २ का प्रदेश सभा सदस्य शिवराज भट्टले निरीक्षण समेत गरेका छन् । विद्युत सवस्टेशन छिटो सञ्चालनमा ल्याउनका लागि विद्युत प्राधिकरणको प्रादेशिक वितरण केन्द्र अत्तरियाको ध्यानाकर्षण गराउने उनले बताए ।
मेलौलीमा निर्माण भएको सवस्टेशनले तल्लोसोराड क्षेत्रका नागरिकको विद्युत सेवामा पहुँच पुर्याउने भएकाले यसको निर्माण कार्यलाई छिटो सम्पन्न गर्न सम्बन्धित निकायको आफूले ध्यानाकर्षण गराउने प्रदेश सभा सदस्य भट्टले बताए ।
सवस्टेशनको सिभिल कार्य अन्तर्गत घर, आवास र सुरक्षा गार्ड बस्ने घर समेत निर्माण भइसकेको छ । यस्तै सवस्टेशन सम्म पुग्ने बाटो पिच गरिएको छ ।
तल्लोसोराड क्षेत्रमा विद्युत विस्तारका लागि स्थानीय सरकारहरुले पनि थप पहल र प्रक्रिया गर्नु पर्ने निरन्तर्ता दिनुपर्ने पुुर्व नगरप्रमुख क्रिसन सिंह नायकले बताए । तीनै तहका सरकारको समन्वय भएमा विकास निर्माणका कामहरुले गति लिने उनले बताए ।

सम्बन्धित निकायलाइ धन्यवाद दिदै राप्रपाका युवा नेता प्रकाश सिंह नायकले भने विकाश निमार्णका कामहरू छिटाेछरिताे संगै दिर्घकालिन हुनुपर्छ । अब लाइन विस्तारका कामहरू सबै गाउँ टाेलहरूमा जाेड दिनुपर्ने र सम्बन्धित निकायकाे ध्यानकर्षणा समेत गरेका छन।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०