एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालका लागि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएका छन्।
योसँगै नेपाललाई तेस्रो सफलता मिलेको छ।
१३औं ओभरमा आफ्नो पहिलो ओभर बलिङ गर्न आएका सन्दीपले तेस्रो बलमा ओमानका साफिक र अन्तिम बलमा ओमानका कप्तान जिसन मक्सुदलाई आउट गरे।
योसँगै सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो।
रसिदले ४४ खेलमा सय विकेट पुर्याएका थिए। सन्दीपले ४२ खेलबाट यो रेकर्ड आफ्नो नाममा पारेका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१० रन बनाएको छ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक १०८ रन बनाए। कीर्तिमानी शतक प्रहार गरेका कुशलले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे।
यस्तै सोमपाल कामीले पनि ६३ रन बनाउँदै अर्धसतकीय पारी खेले। ४८ बलमा उनले ९ चौका प्रहार गरे।