धरान उपमहानगरका मेयर हर्क सम्पाङ्ग र वडाअध्यक्षहरूको विवाद थप चुलिएको छ ।
विवाद बढ्दै गएपछि बिहीबार मेयर साम्पाङ्गले वडाध्यक्षहरूको राजीनामा मागेका थिए । मेयरले विज्ञप्ति निकालेर वडाअध्यक्षहरूलाई असक्षम घोषणा गर्दै राजीनामा मागेपछि वडाअध्यक्षहरूले पनि मेयरको एक वर्षे कार्यकाल पूर्णरूपमा असफल भएको टियप्पणी गरेका छन् ।
राजीनामा दिन चेतावनीसहितको विज्ञप्तिपछि वडाअध्यक्षहरूले पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ्गलाई राजीनामा गरेर पुन: चुनाव लड्न चुनौती दिएका छन् ।
एक वर्षसम्म मेयरको पेलान सहेको भन्दै अब नबस्ने उनीहरूको प्रतिक्रिया छ । वडाध्यक्षहरूले आफूहरूले विधि र प्रक्रियाको कुरा गरेको तर मेयरले प्रक्रियाभन्दा बाहिर गएर धाकधम्की दिएको आरोप लगाए ।
पत्रकार सम्मेलनमा धरान- ६ बाट स्वतन्त्र रूपमा निर्वाचित वडाध्यक्ष भूपेन्द्र भट्टराईले साम्पाङलाई नगर प्रमुख पदबाट राजीनामा दिएर आफ्नो वडामा अध्यक्ष जितेर देखाउन चुनौती दिए ।
उनले मेयर साम्पाङले आफूलाई खोला बेचुवा भनेर चिनाउन खोजेको आरोप लगाउँदै भने, ‘आफनै स्रोत साधन प्रयोग गरौँ खोलाको उचित सदुपयोग गरौँ खोला ठेक्का होइन स्रोत परिचालन गरी बाटोघाटो र विकास कार्य गरौँ भन्दा खोला बेच्न खोजेको हुन्छ ? के खोला मेयरको ठेक्का हो ?’
भट्टराईले वडाको उन्नति र विकासका लागि आफू हरपल प्रयत्न गर्दै मेयरसँग झुकेको तर त्यसको गलत अर्थ लगाएको बताए ।

१७ नम्बरका अध्यक्ष सूर्यबहादुर भट्टराईले उपमहानगरपालिकाको विवाद मेयर हर्क साम्पाङसँग वडाध्यक्षहरूको व्यक्तिगत नभई विधि, प्रक्रिया, पद्धति, विभेद र न्यायको लडाइँ भएको बताए । वडाध्यक्षहरूलाई राजीनामामा माग्ने मेयरले आफैँ राजीनामा दिएर चुनावमा भिड्न उनले चुनौती दिए ।