सहरी विकास मन्त्रालयले बोलाएको फोहोर व्यवस्थापनसम्बन्धी बैठक केहीबेर बसेर सकिएको छ।
बैठक बसे पनि निचोडमा पुग्न नसकेपछि केही समयपछि फेरि बस्ने परिवर्तन नेपालका व्यवस्थापन प्रमुख मित्र घिमिरेले जानकारी दिए।
‘केही समयअघि बसेको बैठकमा केही निचोडमा पुग्न नसकेको कारण अब केही समयपछि पुनः बैठक बस्ने योजना छ,’ उनले भने।
विगत ११ दिनदेखि सिंहदरबारदेखि राष्ट्रप्रमुख र संघीय सरकारका पदाधिकारीहरूको निवासबाट काठमाडौं महानगरले फोहोर उठाएको छैन। सरकारले वार्तामा नबोलाएसम्म फोहोर नउठाउने मेयर बालेन शाहले अडान लिएका छन्।
सिंहदरबार भित्रका सबै कार्यालयबाट फोहोर उठाएर कम्पाउन्डभित्रै राखिएको छ। फोहोर छुट्याएर तीन तरिकाले व्यवस्थापन गर्न थालिएको छ।
रिसाइकल गर्न मिल्ने फोहोर कबाडीमा बेच्ने गरिएको छ। यस्तै केही मात्रामा जनावरका लागि चाराका रूपमा प्रयोग गर्न मिल्ने कुहिने फोहोर फार्महरूमा पठाइने र जैविक फोहोर नजिकै भएको खाल्डोमा पुर्ने गरिएको छ।
परिवर्तन नेपाल नामक संस्थाले राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्छ।
काठमाडौं महानगरको भिआइपी एरियाबाट दैनिक नौ टज फोहोर उठ्ने गरेको छ।
संविधानको अनुसूची-८ मा फोहोरमैला व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ।
फोहोरमैला व्यवस्थापन ऐन २०६४ ले पनि फोहोरमैला उठाउने र व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ।
बालेनले गत शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै सिंहदरबारको फोहोर नउठ्ने बताएका थिए।
बालेनको अभिव्यक्तिको विषय मन्त्रिपरिषद्सम्म पुगेको थियो।
बालेनको अभिव्यक्ति र फाहोर नउठाउने निर्णयबारे सरकारले उनलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय समेत गरेको थियो।