काठमाडौँ ः दाङ तुलसीपुरका एक जना सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरीका ३५ वर्षीय बसन्त केसीले आइतबार बेलुका ८ बजेर ३५ मिनेटको समयमा आफैंलाई गोली हान्दा घटनास्थलमै उनको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार कारागार सुरक्षा गुल्म तुलसीपुरमा ४/५ दिन पहिले आएका केसीले ड्युटीकै क्रममा आफूलाई गोली हानेका हुन्। केसी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत रहेको मल्लले बताए।
केसीको शव केही बेरमा पोस्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिने डिएसपी मल्लले जानकारी दिए।
घटनाबारे थप अनुसान्धन बाँकी रहेको प्रहरीले बताएको छ।