काठमाडौं वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ । शनिबारदेखि विश्वका प्रमुख १०० शहरमध्ये काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित अवस्थामा पुगेको हो
स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार बिहीबारदेखि नै काठमाडौंको वायु अस्वस्थकर तहमा पुगेको छ ।
बिहीबार १७४ एक्यूआई रहेको काठमाडौंको वायु प्रदूषणको अवस्थामा अहिले १९४ एक्यूआईमा पुगेको छ । आईक्यूएअरका अनुसार अहिले भक्तपुर क्षेत्रमा बढी वायुप्रदूषण छ ।
वातावरणविद् भुषण तुलाधर वायुप्रदूषणको सबैभन्दा ठूलो असर फोक्सोमा पर्ने गरेको बताउँछन् । उनी वायु प्रदूषणले मानिसको शरीरमा आक्रमण नगर्ने कुनै अंग नै नरहेको बताउँछन्
‘वायुमा हुने दूषित कण श्वासप्रश्वासमार्फत् सुरुमा फोक्सोमा पुग्ने भएकोले यसमा बढी असर देखिन्छ,’ तुलाधर भन्छन्, ‘अन्तिममा हातखुट्टामा पनि असर देखिन्छ । तर मृत्युतर्फ हेर्ने हो भने चाहिँ सबैभन्दा धेरै प्रदूषणकै कारण ज्यान जाने गरेको छ ।’
वायु प्रदूषणको जाँच आँखाले देख्न नसकिने पीएम १० र पीएम २.५ को मापदण्डमा जाँचिन्छ । पीएम १० भनेको हावामा आउने धुलोमा मिसिने कणहरुसँग सम्बन्धित छ भने पीएम २.५ भनेको कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासहरुसँग सम्बन्धित छ । अहिले काठमाडौंको हावामा यस्ता विषाक्त ग्यासको मात्रा उच्च छ ।
विज्ञहरुका अनुसार बाहिर हावाबाट आएको श्वासनली र नलिकाबाट आउने अक्सिजन रगतसम्म पुग्ने गर्छ र रगतमा रहेको बिकारको पदार्थ कार्बन डाइअक्साइडलाई नलिकाबाट फोक्सोको श्वासनलीबाट बाहिर फाल्ने क्रम रक्तसञ्चार प्रणालीमा चलिरहन्छ । पीएम २.५ ग्यासेस पार्टिकलहरू स्वास्थ्यका लागि खराब खालका हुन्छन् ।
यी ग्यासहरू श्वासनली हुँदै भित्र छिर्छन् । ती हानिकारक पदार्थहरू विभिन्न अंग हुँदै रगतसम्म पुग्छन् र रगतका भित्ताहरूलाई कडा बनाइदिन्छन् । जसले रक्तचाप बढाउँछ ।
रक्तचाप बढेपछि सामान्य अवस्थामा भन्दा प्रदूषणयुक्त ठाउँमा बसेको मान्छेमा हृदयघात र स्ट्रोकको सम्भावना १० गुणासम्म बढेर जान्छ । यसरी वायु प्रदूषणले नै स्ट्रोक र हृदयघातको समेत प्रचूर सम्भावना बढाइदिन्छ ।
वातवरण विभागले वायु प्रदूषणको नकारात्मक असरबाट जोगिन सार्वजनिक अपील नै गरेको छ ।
हेर्नुहोस् विश्वकै प्रदूषित १० शहरको सूचीः

online Khabar