मङ्गलवार राति ११ बजे बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ को जयपृथ्वी राजमार्ग खण्डको झ्याउलेक मोडमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भयो। जिपमा सवार ५ जना हाम फालेर बाच्न सफल भए।
बझाङतर्फ जाँदै गरेको जिपमा भारतमा मजदुरी गरेर नयाँ वर्षका लागि घर फर्कदै गरेका एकै गाउँका ११ जना सवार थिए। बैतडी सदरमुकाम गोठलापानीबाट साँझ ५ः३० हिँडेको जिपले करिब ६२ किलोमीटरको दुरी तय गर्न करिब साढे पाँच घण्टा लगाएको देखिन्छ।

बैतडीका प्रत्यक्षदर्शीले जिपमा क्षमताभन्दा बढी यात्रु र सामान रहेको बताएका छन्। जिप चालकले बढी यात्रु र सामान राखेर तीव्र गतिमा जिप चलाइरहेको बैतडी शाहीलेकका प्रत्यक्षदर्शी महेशदत्त भट्टले दिनेशखबरसँग बताएका छन्।
‘साँझ ५ः३० बजे शाहीलेकमा जिप देखा परेको थियो। जिपमा अगाडि र बीचको सिटमा मान्छे बसेका थिए,’ उनले भने, ‘जिपको पछाडि सामा थियो। तर, ११ व्यक्ति सवार भन्ने आएको छ। जिप तीव्र गतिमा गुडिरहेको थियो। प्रहरीलाई देखाउने भनेर फोटो खिचेको थिए; नभन्दै राति नै दुर्घटना भएछ।’ बैतडीमा हिजोआज सडक दुर्घटना बढेको र कारण खोजी हुनुपर्ने भट्टको भनाइ छ।
जुलाघाटदेखी खोड्पेसम्म ९ ठाउँमा प्रहरी, हुँदैन ट्राफिक नियमन
बैतडीको सिमानाका जुलाघाटदेखि जिप दुर्घटना भएको ठाउँसम्म ९ ठाउँमा प्रहरी र ट्राफिक प्रहरी चौकी छन्। जुलाघाटमा प्रहरी चौकी छ। जिल्ला सदरमुकाम गोठलापानीमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको पोष्ट छ। यसैगरी शाहीलेकमा जिल्ला ट्राफिक प्रहरी, देहीमण्डौमा प्रहरी चौकी, मुसेखानमा प्रहरी चौकी, पाटनमा सडक छेउमा इलाका प्रहरी कार्यालय र ट्राफिक पोष्ट छ। यी सबै ठाउँमा चालकले यात्रुलाई जिपबाट झारेर हिँड्न लगाएको प्रहरीले बताएको छ।
दुर्घटना भएको स्थानभन्दा पर जयपृथ्वीराजमार्गको शुन्य बिन्दु। खोड्पेमा ट्राफिक प्रहरी र नेपाल प्रहरी छ तर पनि दुर्घटनामा परेको जिप पछाडि डालामा सामान र मान्छे राखेर यी सबै प्रहरी पोष्ट हुँदै जिपअगाडि बढेको हो। सडकमा चल्ने गाडीको गति, चालकको अवस्था, यात्रु र सामानको संख्या र तौलबारे प्रहरीले चासो नदिँदा जिप दुर्घटनामा परेको पाटनका प्रेम भण्डारीको भनाइ छ।
बैतडीमा किन बढे सडक दुर्घटना ?
चैत महिनामा मात्रै बैतडीमा ४ वटा सडक दुर्घटना भएका छन्। चैत २२ गते डिलासैनी गाउँपालिका वडा नम्बर ३ धौकुचेमा जिपले ठक्कर दिँदा ७५ वर्षीया महिलाको मृत्यु भएको थियो। चैत २० गते देहीमाण्डौ– गिरेगाडा सडक खण्डको पञ्चेश्वर–५ तिलकपुर भीटामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु र ११ जना घाइते भएका थिए। चैत १८ मा पाटन–४ तोलीमा १० जना यात्रु सवाल जिप दुर्घटनामा परेको थियो।
बैतडीको राजामार्ग र ग्रामीण सडकमा दुर्घटना हुने दर बढेको छ। पुराना गाडी, ट्राफिक प्रहरीको नियमनको अभाव, गैरजिम्मेवार चालक र ओभरलोडका कारण सडक दुर्घटना बढेको हुन सक्ने नेपाली काँग्रेसका युवा नेता महेशदत्त भट्टको भनाइ छ। ‘बैतडीका सडकको अवस्था राम्रो छैन। पूराना थोत्रा गाडी ग्रामीण सडकमा हुइकिन्छन्,’ उनले भने, ‘गाडीको क्षमताभन्दा बढी यात्रु र सामान राख्ने र चालक र ट्राफिक प्रहरीको लापरबाहीले दुर्घटना बढेका हुन्। यसमा यात्रु पनि गैरजिम्मेवार छन्।’
बैतडीमा माघ १६ गते दशरथचन्द नगरपालिका वडा नम्बर ५ पल्लाचौडालीमा जिप दुर्घटना भएक थियो। त्यो जिपमा चालक मात्रै रहेकाले मानवीय क्षति भएन। पुसको २२ गते दोगडाकेदार –५ मा जिपले महिलालाई ठक्कर दिएको थियो। मंसिर महिनामा भने ६ वटा सडक दुर्घटना भएका छन्। मंसिर २३ मा पाटन–१० डसेलीमा भएको जिप दुर्घटनामा १ जनाको मृत्यु, मंसिर २१ मा सुर्नाया–६ मोतिनगरमा बझाङबाट धनगढी आइरहेको जिप दुर्घटनामा परेको थियो। चालकबाहेक अन्य यात्रु नहुँदा मानवीय क्षति भएन। मंसिर १७ मा सुर्नाया–२ मा ट्रक र बस आपसमा ठोक्किएर सडक दुर्घटना भयो।
मंसिर–९ मा पुरचौडींबाट सुर्नाया –८ मा जन्ती बोकेको जिप जातखोलामा दुर्घटनामा पर्दा १ जना घाइते भए भने मंसिर ५ गते पाटन–४ मा नेपाल प्रहरी सवार जिप दुर्घटना हुँदा ४ जना प्रहरीको घटनास्थलमै मृत्यु भयो भने १ चालक र ७ जना प्रहरी घाइते भए। बैतडीमा गएको पाँच महिनाम १३ वटा सडक दुर्घटनामा चालकको लापरबाही र रोडको अवस्थाले दुर्घटना हुने गरेकोर ट्राफिक प्रहरीले जनाएको छ।
‘मङ्गलवार राति भएको दुर्घटनामा चालको लापरबाही मुख्य कारक हो कि भन्ने देखाएको छ,’ उनले भने, ‘चालकले ट्राफिक प्रहरी र नेपाल प्रहरी भएको ठाउँमा यात्रु उतारेर हिँडाउने गरेको थाहा भएको छ। हामीले चेकजाँच गर्दा जिपमा ५ जना यात्रु मात्रै सवार रहेको देखिएको छ।’
बझाङबाट गोठलापानी बोलाइएको थियो जिप
मङ्गलवार राति भएको जिप दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका वड नम्बर ५ का ६ जनाको मृत्यु भएको छ। मृतकहरू भारतको पिथौरागढबाट मजदुरी गरेर घर फर्किन लागेका थिए। चालक अर्जुन बोहराले चलाउने जिपलाई उनीहरूले गोठलापानी बोलाएका थिए। घटनमा चालक बोहराका ठुलोबुवा मनि बोहराको पनि मृत्यु भएको छ। घटनाम बाँझगाउँका ३ र चौणेलीक ३ जना रहेको घटनास्थलमा रहेका केदारस्युँ गाउँपालिकाका उपाध्यक्ष मनिषा धामीले बताए। उनले दाजुभाइ र काकाभतिज नाता पर्नेको दुर्घटनामा मृत्यु भएको बताइन्। नयाँ वर्षको मुखैमा भएको घटनाले सिङ्गो गाउँपालिका शोकमा डुबेको उपाध्यक्ष धामीले बताए।