काठमाडौं । भ्वाइस किड्स नेपालको ब्याटल राउण्ड प्रतिस्पर्धा रोचक बनिरहेको छ । पछिल्लो सप्ताहन्तका एपिसोडबाट १२ जना प्रतिस्पर्धी लाइभ शोमा प्रवेश गरेका छन् । आगामी साता हुने ब्याटल राउण्डको बाँकी प्रतिस्पर्धाबाट थप १२ गरी २४ जनाको लाइभ शो समीकरण पूरा हुनेछ ।
लाइभ शोका लागि १६ जनालाई छनोट र आठ जनालाई स्टिल गर्नुपर्ने नियम छ । तपाईंले ब्याटल राउण्ड हेर्दै हुनुहुन्छ भने यो नोकझोंक र रस्साकस्सी निकै मनोरञ्जन बनिरहेको छ । दबाबको केन्द्रमा कोच छन् भने प्रतिस्पर्धीलाई पनि उत्तिकै प्रेसर देखिन्छ ।
जसअनुसार शुक्रबार र शनिबारका दुई एपिसोडबाट कोच मिलन नेवारको समूहबाट प्रार्थना गुरुङ, सृष्टि लामा, निशित बिके लाइभ शोमा प्रवेश गरेका छन् । कोच प्रमोद खरेलको समूहबाट अल्जिना राई, स्पन्दन सुब्बा र अश्मिक खवास आगामी चरणमा प्रवेश गर्न सफल रहे । टिम सुशान्तबाट बाहिरिएकी अश्मिकलाई प्रमोदले स्टिल गरेका हुन् ।
कोच प्रविशा अधिकारीको समूहबाट अर्नब बन, अग्रिमा रिजाल, रेहाना गुरुङ लाइभ शोमा प्रवेश गर्न सफल भए । कोच सुशान्त केसीको समूहबाट सारा राई, आराध्या धमला र प्रनिशा बाँस्तोला लाइभ शोमा प्रवेश गरे । सुशान्तलाई निर्णय लिन निकै सकस परेको देखिन्थ्यो । सुरुकै ब्याटलमा उनले सारालाई चुनेपछि उनको समूहबाट बाहिरिएकी अश्मिकलाई प्रमोद खरेलले तत्कालै स्टिल गरे ।