नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशमा मन्त्री बनेकाहरूले पदबाट राजीनामा दिएका छन्।
माओवादीबाट लुम्बिनीमा २ जना मन्त्री थिए। उनीहरूले आज मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका छन्।
साथै माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा, जसपा, एकीकृत समाजवादीले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका हुन्।
उनीहरूले समर्थन फिर्ता लिएमा नेकपा एमालेबाट मुख्यमन्त्री गिरी अल्पमतमा पर्नेछन्। उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
केन्द्रमा गठबन्धन परिवर्तन भएपछि प्रदेशमा पनि सोहीअनुसार सरकार बनाउन माओवादीका मन्त्रीहरूले राजीनामा दिएका हुन्।
अब नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने सम्भावना छ। नयाँ गठबन्धनबाट ५३ जना सांसदको हस्ताक्षर भइरहेको छ। यो हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचन र सभामुख कुलबहादुर घर्तीलाई बुझाउने तयारी छ।
माओबादीका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले पनि माओवादीका सबै मन्त्रीले पदबाट राजीनामा दिइसकेको र यसअघि एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको बताए।
नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले नयाँ सरकार गठनको गृहकार्य सुरू भइसकेको बताए।
लुम्बिनीमा ८७ जना सांसद छन् । त्यसैले नयाँ सरकार गठनका लागि ४४ सांसदको समर्थन जरुरी हुन्छ। प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४/४, जनमत पार्टी र जसपाका ३/३, एकीकृत समाजवादीका १ र २ स्वतन्त्र सांसद छन्।
लुम्बिनीका ३ स्वतन्त्र सांसदमध्ये २ जना माओवादीमा प्रवेश गरिसकेका छन्।
गत पुस २७ मा एमालेका गिरी मुख्यमन्त्री बनेका थिए।