काठमाडौँ । उपराष्ट्रपति रामसहाय यादवका श्रीमती चम्पादेवी यादव उपराष्ट्रपति निवास ‘ग्रीन हाउस’ छाडेर आफ्नै गाउँ फर्केकी छिन् । बाराको कलैयास्थित घरमा गाईवस्तु र खेतीबारी हेर्नुपर्ने भन्दै उनी काठमाडौँ छाडेर आजै कलैया पुगेकी हुन् ।
चम्पादेवी आफ्नो घर छाडेर चैत ६ गते भएको उपराष्ट्रपतिको शपथग्रहण कार्यक्रममा समेत काठमाडौँ आउन चाहेकी थिइनन् । शपथग्रहणमा ‘श्रीमतीको उपस्थिति अनिवार्य’ छ भनेर उनलाई कलैयाबाट जबरजस्ती काठमाडौँ ल्याइएको थियो । त्यसयता उनले दुई दिन जसोतसो काठमाडौँमा बिताइन् ।
चम्पादेवीका छोरा शत्रुधन यादव भन्छन्, ‘मम्मी शपथग्रहणमा पनि आउन मान्नुभएको थिएन । जसोतसो ल्यायौँ तर शपथग्रहण सकेकै दिनदेखि उहाँले गाउँ फर्किन्छु भन्न थाल्नुभयो । घरमा कोही छैन, गाईवस्तुको कस्तो भइरहेको होला ? खेतीपाती कसले हेर्यो होला भन्दै घर जान्छु भनेर जिद्दी गर्नुभएपछि आज गाउँ पठाई दिएका छौँ ।’
चम्पादेवीको जिद्दीको अगाडि कसैको केही चल्दैन । उपराष्ट्रपति रामसहाय यादव जति सरल छन्, चम्पादेवी त्यति नै कडा । चम्पादेवीका लागि उपराष्ट्रपति पद केही होइन, उनका लागि आफ्नै गाईभैँसी र खेतबारी नै प्यारो छ । चम्पादेवीले भनिन्, ‘उपराष्ट्रपति सधैँका हुने होइनन् नि, पाँच वर्षपछि फेरि यही ठाउँमा आउनुपर्छ । यही गाईवस्तु र खेतीपातीमा रमाउनुपर्छ भने किन त्यहाँ बस्नु ?’