काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। मंगलबार आयोगले तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो।
बुधबारदेखि चैत १२ गतेसम्म दल दर्ताका लागि आयोगको कार्यतालिका सार्वजनिक रहेको छ। तनहुँ १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका छन्। बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। यससँगै ती दुवै ठाउँमा सांसद पद रिक्त भएका थिए।
चितवन २ बाट निर्वाचित सांसद रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि उक्त ठाउँ पनि रिक्त भएको थियो।
उम्मेदवारको मनोनयन यही चैत २० गते दर्ता गराउने मिति तोकिएको छ। संविधानको धारा ६२ (६) र धारा ६७ (३) अनुसार निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भए निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ। सोहीअनुसार राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादव सांसद निर्वाचित क्षेत्रमा उपनिर्वाचन हुन लागेको सहायक प्रवक्ता अर्यालले जनाए।
संविधानको धारा ८४ (७) मा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भए कानुनअनुसार उपनिर्वाचन गराउनुपर्ने उल्लेख छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ मा पदपूर्ति गर्न आयोगले तोकेको मितिमा उपनिर्वाचन हुने व्यवस्था छ।