धनगढीः छाडा पशु चौपायाका कारण सडक दुर्घटना हुँदै आएको र किसानको खेतबारीमा नोक्सानी गर्न थालेपछि कञ्चनपुरको बेदकोट नगरपालिकाले सामुदायिक पशुको व्यवस्थापन सुरु गरेको थियो। नगरपालिकाले पूर्व–पश्चिम राजमार्गका लागि बनाएको पुलको मुनि सामुदायिक पशुको व्यवस्थापन गरेको छ। सो पुलको मुनि पशुचौपाया राखिएको तीन महिना भएको छ।
अर्को व्यवस्था नभएसम्मका लागि चौपाया पुलमुनि राखिएको कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले बताए। उनले भने, ‘हामीले तीन महिनादेखि गाईलाई पाल्ने काम गरेका छौ। संरक्षणको प्रयास गरिएको छ। यो प्रतिकुल ठाउँ छ। गाइको संख्या धेरै छ। अर्काे ठाउँ छैन्। एक व्यवस्थित गौशाला निर्माण गर्न लागेका छौ। त्यसका लागि पाँच बिघा जमिन लिएका छौ।’
बेदकोट नगरपालिकाले तीन सय ३६ बढी पशुलाई पुलको मुनि राखेको तीन महिना बढी भइसकेको छ। नगरपालिका क्षेत्रमा सामुदायिक पशुको व्यवस्थापनका लागि स्थानको अभाव छ। वडा नम्बर ४ को बालज्योती माध्यामिक विद्यालयको जमिनमा पशुको व्यवस्थापन गर्ने निर्णय भएको छ।
पाँच बिघामा तारजाली लगाएर पशुको व्यवस्थापन गर्ने योजनालाई डिभिजन वनले अबरोध गरेको नगरपालिकाले बताएको छ। नगरप्रमुख बोहराले भने, ‘नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट, कम्तीमा दैनिक २४ हजार खर्च हुँदैछ। पराल सकिदैछ। यही राखेर १० दिनपनि पाल्न सक्ने अवस्था छैन। बालज्योतीमा एक सय ट्रली पराल छ। पशुको त्यही व्यवस्थापन हुन्छ।’
नगरपालिकाले व्यवस्थित गौशाला निर्माण गर्न सकेको छैन। वडा नम्बर ४ को बालज्योती माध्यामिक विद्यालयमा समेत तारजाली मात्र हालिएको छ। नगरपालिकाको आन्तरिक स्रोतले गौशाला निर्माण तथा पशुको व्यवस्थापन गर्न सकिएको छैन्। नगरप्रमुख बोहराले अर्काे व्यवस्था नभएकाले पुलको मुनि पशुचौपायाको व्यवस्थापन गरेको बताए। पशुको संख्या धेरै भएकाले समस्या भएको उनको तर्क छ।
नगरपालिका क्षेत्रका पशुको व्यवस्थापनका लागि १६ लाख बजेट विनियोजन गरिएको थियो। विनियोजित बजेट सामुदायिक पशुको आहाराका लागि मात्र खर्च हुने देखिएको छ। गौशाला निर्माण नहुँदा तीन महिनादेखि पशुचौपायाको पुलमुनि बिजोक छ।