कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले बुधबार ४ बजे पत्रकारहरूलाई बोलाए । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखेको पत्रकार सम्मेलनको लागि अधिकांश पत्रकार निर्धारित समयमै पुगे । समयमै कार्यक्रम सुरु नहुने त नेपाली संस्कार जस्तै भइसक्यो । जुन संस्कार यहाँ छुट्ने कुरै भएन ।
तर, करिब दुई दर्जन बढी पत्रकारलाई आधा घन्टा बढी कुराएर मुख्यमन्त्री शाहले आफू नआउने जानकारी पठाए । ‘मुख्यमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने र त्यसपछि मात्रै पत्रकार सम्मेलन गर्ने’ भन्ने सूचना पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहले सुनाए ।
पत्रकार सम्मेलन भन्दै आफूहरुलाई बोलाएर मुख्यमन्त्री शाह आफैं गयल भएपछि पत्रकारहरूले आक्रोश पोखे । उनीहरुले मुख्यमन्त्रीको रवैयाप्रति रोष व्यक्त गरे ।
पत्रकारहरु फर्किँदै गरेपछि पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी आइपुगे । उनले पत्रकारलाई विनासन्दर्भ बोलाएको भन्दै मुख्यमन्त्रीको सचिवालयका कर्मचारीलाई डाँटे ।
मुख्यमन्त्रीको सचिवालयले भने मन्त्रिपरिषद्को बैठक बस्न ढिलो भएका कारण निर्धारित समयमा पत्रकारसँग भेटघाट गर्न नसकिएको स्पष्टीकरण दिएको छ ।