इटहरी । सुनसरीका दुईजना नेपाली भाषा विज्ञहरूका बीचमा प्रदेशको नाम ‘कोसी’ लेख्ने कि ‘कोशी’ भन्ने विषयमा विभाजित बनेका छन् । प्राध्यपक डा. बद्रीविशाल पोखरेल र प्राध्यापक डा. टंक न्यौपानेका बीचमा प्रदेशका नामका विषयमा विवाद उत्पन्न भएको हो ।
प्रदेश सरकारको आधिकारिक डकुमेन्टमा भने कोशी नै लेखिएको छ ।
फागुन २३ गते ब्लाष्ट दैनिक पत्रिकामा प्राध्यापक डा. टङ्क न्यौपानले प्रदेशको नाम ‘कोशी’ की ‘कोसी’ विषयक आलेख लेखेपछि अर्का भाषाविद पोखरेलले विरोध गरेका छन् । न्यौपानेले प्रदेशको नाम ‘कोसी ’ लेखिनु पर्ने तर्क अघि सारेका थिए ।

न्यौपानलेको तर्कमा विमत्ति जनाउँदै पोखरेलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कोशी लेखिनुपर्ने तर्क अघि सारेका छन् । फेसबुकमा पोखरेलले लेखेका छन् ‘प्राडा. टंक न्यौपानेको ब्लास्ट दैनिकको फागुन २३ गते प्रकाशित कोशी कि कोसी भन्ने प्रदेश १ को नाम विषयको लेख पढेर मलाई भारी सरम, लाज र घीन लाग्यो ।’
नेपाली भाषालाई सरलीकरण गर्ने विषयमा छलफल र निष्कर्ष निकालेर प्रज्ञाबाट शब्दकोशमा समेत कोसी लेख्ने सहमति भएको उनको जिकिर छ ।
उनले अगाडि लेखेका छन्, ‘आफैँले ल्याप्चे लगाएको नाक रगडेर सहमति गरेर वा नगरे पनि बहुमत मान्यताको ठाडो उल्लंघन गरेर बोल्न लाज लाग्दैन महाकालीमा जयसिंह धामी मारिँदा मौन समर्थन गर्ने भाषाका बाजे र बाजहरू कस्ता हुन्, यो पढेर केही हनुमान रिसाउलान् पनि ।’
दुई भाषा शास्त्रीको दोहोरीले पाठकलाई टिप्पणीको खुराक मिलेको छ ।