जनमत पार्टीका अध्यक्ष सिके राउतले उपराष्ट्रपतिको निर्वाचनमा पुरूष उम्मेदवारी दर्ता गर्नु खेदजनक रहेको बताएका छन्।
शनिबार अपराह्नमा उनले सामाजिक सञ्जालमा लेख्दै आयोगले महिला उम्मेदवार नै हुनुपर्ने अडान लिएपनि अहिले दबाव वा प्रभावमा आएर पुरूष उम्मेदवार दर्ता गर्नु खेदजनक रहेको बताएका हुन्।
उपराष्ट्रपतिको निर्वाचनको लागि चार जनाले मनोनयन दर्ता गराएका छन्। जसमध्ये जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवले पनि उम्मेदवारी दिएका छन्।
राष्ट्रपतिमा खस आर्य समुदायको तर्फबाट रामचन्द्र पौडेल निर्वाचित भएको र आयोगले उपराष्ट्रपतिमा महिला हुनुपर्ने भनेपनि पुरूषकै उम्मेदवारी दर्ता गरेको भन्दै उनले आपत्ती जनाएका हुन्।
‘निर्वाचन आयोगले संविधानको धारा ३८(४) उदृत गर्दै हरेक हालतमा उपराष्ट्रपतिको उम्मेदबार महिला नै हुनुपर्ने अडान लिएपछि अहिले कुनै पनि दबाव वा प्रभावमा आएर पुरूष उम्मेदवार दर्ता गरिनु अत्यन्त खेदजनक छ,’ उनले भनेका छन्, ‘यसले आयोगको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह खडा गरेको छ। संविधानको मूलमर्म, जनभावना तथा महिलाको अधिकारमाथि यसले प्रहार गरेको छ।’
यस्तै यस कार्यविरूद्ध र महिलाको न्यायको लागि उजुरी दिने पनि उनले बताएका छन्।
जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाएको छ। यता जसपाले प्रमिला यादव र नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले पनि उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा एमालेले पनि महिला उम्मेदवार नै हुनुपर्ने भन्दै रामसहाय यादवविरूद्ध उजुरी दिएको छ। यस्तै जसपाले विवाद हुने सम्भावना देखेर दुई जनालाई उम्मेदवार उठाएको हो।
यसविषयमा आइतबार बस्ने गठबन्धनको बैठकले साझा उम्मेदवार टुंगो लगाउने बताएको छ।