बाराको कोहल्वी नगरपालिका-५ का वडाध्यक्ष पक्राउ परेका छन्।
डिभिजन वन कार्यालय बाराले शनिबार वडाध्यक्ष नन्दकिशोर चौधरीलाई पक्राउ गरिएको डिभिजनल वन अधिकृत विनोद सिंहले जानकारी दिए।
उनीमाथि रूखमा क्षति पुर्याएको आरोप छ।
सिंहका अनुसार २०७७/८८मा कोहल्वी-५स्थित राम वनमा ५.३ हेक्टर जग्गामा वृक्षरोपण गरिएको थियो। रूख १५-१६ फिटको भइसकेको थियो।
तर गत मंगलबार होलीको दिन उक्त रूख काटिएको र तारबार पनि भाँचेर छाडिएको अवस्थामा फेला परेको थियो।
अनुसन्धानको क्रममा वडाध्यक्ष चौधरीसहितको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको सिंहले बताए।
वडाध्यक्षमाथि सोधपुछ गरी यसमा संलग्न अन्यलाई पनि नियन्त्रणमा लिइने उनले बताए।