काठमाडौं । नागरिकता पेश नगरेको भन्दै परिक्षाफल रद्ध गर्ने कृषि तथा पशु विज्ञान अध्ययन संस्थान डीन कार्यालयको निर्णय कार्यान्वयन नगर्ने उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
अन्तरिम आदेश छलफलका लागि अदालतले चैत १ गते दुवै पक्षलाई बोलाएको छ । जगदिशनाथ योगीले कृषि तथा पशु विज्ञान अध्ययन संस्थान डीन कार्यालयले नागरिकता पेश नगरेकै कारण आफ्नो प्रवेश परिक्षाको परिक्षाफल रद्ध गरेको भन्दै उच्च अदालत पाटनमा रिट हालेका थिए ।
योगीले कृषि तथा पशु विज्ञानको स्नातकोत्तर तहका लागि प्रवेश परिक्षा दिएका थिए । अनलाइनमार्फत फर्म भरेर प्रवेश पत्र समेत लिएर परिक्षा दिएका योगीको परिक्षाफल नागरिकता पेश नगरेका कारण रद्ध भएको डीन कार्यालयले जनाएको छ ।
उच्च अदालतका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले शुक्रबार अन्तरिम आदेश छलफल नहुँदासम्मका लागि रिट निवेदकलाई भर्नालगायत निवेदकलाई असर पर्ने कार्य नगर्न डीन कार्यालयका नाममा आदेश जारी गरेको हो ।

Nepalpress