काठमाडौं । रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक भएको छ । सर्वोच्च अदालतले रवि लामिछानेले विदेशी नागरिकता त्यागेको निस्सा बुझाएर नेपाली नागरिकता पुनर्प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद कायम नरहने फैसला गरेको छ ।
फैसलाको पूर्णपाठमा ‘नेपाली नागरिक नभएका व्यक्तिलाई नेपालमा राजनीतिक दल खोल्ने वा संसदीय निर्वाचनमा उम्मेदवार हुने अधिकार रहँदैन’ भनिएको छ । त्यसैले पनि उनको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी कायम रहन्छ कि खारेज हुन्छ भन्नेबारे अहिले नयाँ बहस सुरु भएको छ ।
नेपाली नागरिक नभएको व्यक्तिलाई नेपालमा राजनीतिक दल खोल्ने अधिकार रहँदैन भनेर सर्वोच्च अदालतले फैसलामा प्रस्ट उल्लेख गरे पनि रवि लामिछानेले विधिवत् रूपमा नेपाली नागरिकता नलिई खारेज भइसकेकै नागरिकताका आधारमा दल दर्ता गरिसकेको अवस्थामा उक्त दल कायम रहन्छ कि खारेज हुन्छ भन्नेबारे केही उल्लेख छैन ।
ratopati