काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा त्रिदेशीय एकदिवसीय शृङ्खला खेलेर नेपाली टोली आज मङ्गलवार स्वदेश फर्किएको छ ।
नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारी तथा समर्थकले स्वागत गरेका छन् ।
यूएई र पपुवा न्युगिनी सम्मिलित शृङ्खलाका चार वटामध्ये नेपालले तीन वटा खेल जितेको छ । नेपालले पीएनजीलाई दुई वटै खेलमा हराउँदा यूएईसँग एकमा जित र एकमा हार बेहाेर्याे । यो जितसँगै नेपालले सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै राखेको छ ।
अब पर्सि बिहीवारदेखि नेपालमा हुने शृङ्खलाका चार वटै खेल जितेमा नेपालले विश्व कप छनोट खेल्न पाउनेछ भने कम्तीमा दुई वटा खेल जितेमा एकदिवसीय मान्यता जोगाइराख्नेछ । नेपाल, यूएई र पपुवा न्युगिनीबीचको शृङ्खला पर्सिदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ । शृङ्खलाका लागि यूएई र पीएनजी पनि नेपाल आइसकेका छन् ।