काठमाडौँः निर्वाचनपछि बनेको हालको प्रतिनिधि सभाको १४ वटा बैठक बसे पनि तर संसद्को मुख्य काम कानुन बनाउने कुरा भने ओझेलमा परेको छ।
प्रतिनिधि सभामा हालसम्म सरकारले दुईवटा विधेयक दर्ता गरेको छ भने तीन विधेयक राष्ट्रिय सभाबाट सन्देशसहित आएको छ। तर यी विधेयकमाथि दफाबार छलफल गर्नका लागि संसदीय समितिहरू कहिले गठन हुन्छन् र तिनले कहिलेदेखि काम थाल्छन् भन्ने टुङ्गो छैन। प्रतिनिधि सभामा प्रतिपक्षको सिटमा बस्न कांग्रेस र एमालेको हानथापका कारणको साथै सभामुख देवराज घिमिरेको झन्डै एक साताको विदेश भ्रमण, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलगायतका कारण प्रतिनिधि सभाको बैठक आगामी चैत ५ गतेसम्मका लागि स्थगित गरिएको छ।
नवनिर्वाचित सांसदहरू प्रतिनिधि सभामा प्रवेश गरेको पनि ३ महिना भइसकेको छ। गत मङ्सिर ४ गते प्रतिनिधि सभाको निर्वाचनबाट सांसदहरू निर्वाचित भएपछि उनीहरूले गत पुस ७ गते शपथ लिएका थिए। सांसदहरूले शपथ लिएको २० दिनपछि अर्थात् पुस २७ गते प्रतिनिधि सभाको पहिलो बैठक बसेको थियो। पहिलो बैठकमा राजनीतिक दलका प्रमुख नेताहरूले सम्बोधन गरे भने त्यसको भोलिपल्ट भएको दोस्रो बैठकमा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका थिए।
प्रतिनिधि सभाका सभामुख घिमिरे निर्वाचित भएको डेढ महिना भइसकेको छ। गत माघ ५ गते सभामुखमा भएका घिमिरेले गत माघ १० गते प्रतिनिधि सभा सञ्चालनको नियमावली बनाउनका लागि विभिन्न दलका सांसदहरू सहभागी भएको एक समिति गठन गरेका थिए। १५ दिनका लागि समितिलाई काम गर्ने समय दिए पनि समयमा काम नसकेर गत फागुन ४ गते नियमावली मस्यौदा समितिले नियमावलीको मस्यौदालाई अन्तिम रूप दिएको थियो।
गत फागुन १० गते समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधि सभामा नियमावलीको मस्यौदा पेस गरे पनि प्रतिनिधि सभाबाट पारित हुन सकेको छैन।