काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख राजु पाण्डेमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई बिहीबार पक्राउ गरेको प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए।
गत मंसिर १२ गते थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा पाण्डेलगायत महानगर प्रहरीमाथि आक्रमण भएको थियो।
पाण्डेको टाउकोमा चोट लागेको थियो। अन्य प्रहरी पनि घाइते भएका थिए।
त्यस घटनामा संलग्न नारायण परिश्रमी र हुकुमबहादुर लामालाई पक्राउ गरेको हो। परिश्रमीलाई प्रहरीले सुनसरी र लामालाई शंखमुलबाट पक्राउ गरेको हो।
थापाथलीको उक्त घटनापछि महानगरले परिसरमा जाहेरी दिएको थियो। अहिले उनीहरूमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव कसुरको मुद्दामा म्याद थप गर्ने तयारी गरिरहेको छ।
बागमती किनारमा बस्दै आएका सुकुम्बासीहरूलाई हटाउन महानगरले गृह मन्त्रालयसँग सहयोग पनि मागेको थियो।