काठमाडौं महानगरपालिकाले माडवारी समाजलाई धर्मशालामा बनाएको अवैध संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ।
बिहीबार महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले माडवारी समाजलाई गौशालास्थित धर्मशालामा बनाएको अवैध संरचना हटाउन मौखिक रूपमा २४ घण्टे अल्टिमेटम दिएको काठमाडौं महानगरपालिका ८ का वडाध्यक्ष आशामान संगतले सेतोपाटीलाई जानकारी दिए।
पशुपति विकास कोषले हिजो (बुधबार) अनधिकृत संरचना हटाउन सहयोग माग्दै महानगरमा पत्र पठाएको थियो।
एक रोपनी जग्गा भोगचलनको सम्झौता भए पनि माडवारी समाजले १० रोपनी भोगचलन गर्दै आएको वडाध्यक्ष आशामानले बताए।
‘माडवारी समाजले एक रोपनी जग्गा भोगचलन गर्न पाउने भनेर सम्झौता गरेको रहेछ,’ उनले भने, ‘जसको बहाल स्वरूप माडवारी समाजले विकास कोषलाई वार्षिक ५० हजार दिँदै आएको छ।’
वडाध्यक्ष आशामानका अनुसार ती संरचनामा चलिरहेका कुनै पनि व्यवसाय वडामा दर्ता भएका छैनन्।
‘हामीले उहाँहरूलाई केही प्रमाण छ भने पेश गर्नुस् भनेर २४ घण्टाको समय दिएका छौं,’ उनले भने, ‘यदि उहाँहरूले प्रमाण लिएर आउनु भएन भने हामी कारबाही गर्नेछौं।’