प्रदेश १ को किरात लिम्बुवान सगरमाथा राख्न प्रदेश सभामा अर्को प्रस्ताव दर्ता भएको छ।
नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बताए।
जनता समाजवादी पार्टीले पनि एकीकृत समाजवादीकै प्रस्तावमा समर्थन जनाएको छ।
प्रदेश सभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।
बहुपहिचानसहितको नाम प्रस्ताव गरेर आफूहरूले चुनावमा गरेको वाचा पूरा गरेको एकीकृत समाजवादीका नेता राईले बताए।
‘भोट माग्दा पहिचान भन्दै माग्ने अनि निर्णय गर्ने बेलामा अर्कै गर्ने काम छल हो। हामी त्यसो गर्ने पक्षमा छैनौं,’ राईले भने।
यसअघि प्रदेशको नाम कोशी राख्न एमाले र कांग्रेस सांसदहरूले प्रस्ताव दर्ता गरेका थिए।
एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता भएको छ।
अर्को सत्तारूढ दल माओवादी केन्द्रले पनि उक्त प्रस्तावमा फरक मत नराख्ने बताएको छ।
सत्ताको नेतृत्व गरिरहेको एमाले र विपक्षी कांग्रेस एकमत भएर प्रदेशको नाम राख्न लागेपछि माओवादी केन्द्रले पनि यसमा अवरोध नगर्ने, फरक मत नराख्ने वचन दिएको कांग्रेस नेताहरूले बताएका छन्।
माओवादी नेताहरूले आफूले नभई जनताले नै पहिचानको मुद्दा छोडेको बताएका छन्।
‘हामी कोशीमै भोट हाल्छौं,’ माओवादी सासद गणेश उप्रेतीले भने, ‘पहिचान हामीले छोडेको होइन, जनताले छोडेका हुन्। पहिचान चाहनेलाई मत नदिएपछि हामीले कसरी पहिचानसहितको नाम दिने।’
उनले दलको बैठकबाट कोशीमै मतदान गर्ने निर्णय भएको जानकारी दिए।