कैलाली । सातदलीय गठबन्धनको समर्थनमा पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले उछिट्टिएर आठदलीय गठबन्धनमा पुगेका छन् । उनलाई प्रधानमन्त्री नियुक्त गर्दा समर्थन गरेको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नयाँ गठबन्धनमा समावेश छैनन् ।
कांग्रेससहितको गठबन्धन बन्दा एमाले, राप्रपा र रास्वपा बाहिर परेका हुन् । यीमध्ये रास्वपाले सरकारबाट मन्त्री फिर्ता बोलाएको छ भने राप्रपाले सरकारबाट हट्नुका साथै प्रधानमन्त्रीलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । एमालेले भने कुनै निर्णय गरेको छैन ।
समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था रहेको छ । यद्यपि, संविधानको धारा १०० लाई कानूनविद्हरूले फरक–फरक व्याख्या गरिरहेका छन् ।