काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रात्रिबस सञ्चालन गर्ने निर्णय गरेको भोलिपल्टै गृहमन्त्री नै पदबाट हट्नु परेपछि अन्यौल भएको बताएका छन्।
बिहीबार बसेको कार्यपालिकाको बैठकमा बोल्दै उनले गृह मन्त्रालयमा गृहमन्त्री रवि लामिछानेसँग बसेको बैठकले रात्रिकालीन बस चलाउने निर्णय गरेको बताए।
तर त्यसको भोलिपल्टै रवि लामिछानेलाई सर्वोच्च अदालतले नागरिकता विवादका कारण सांसद बन्न अयोग्य ठहर गरेको थियो।
रात्रिकालीन यातायात चलाउन सडक बत्ती र सुरक्षा पनि हुनुपर्ने भन्दै मन्त्रालयमा छलफल गरी निर्णय गरेको उनले बताए।
‘त्यसको लागि व्यवस्थित बत्ती, भनेको उज्यालो पनि हुनुपर्यो। सेक्युरिटी सिसिटिभी हुनुपर्यो। नेपाल प्रहरीलगायत हाम्रो प्रहरीले सेक्युरिटी पनि दिनसक्नपर्छ अनि मात्रै हामीले बेलुका यातायात सञ्चालन गर्न सक्छौं,’ उनले भने,‘त्यससम्बन्धी गृह मन्त्रालयमा बैठक भएर निर्णय पनि भइसकेको थियो। त्यसको भोलिपल्टै गृहमन्त्री चिप्लिनुभयो।’
उनले रात्रिकालीन यातायातको लागि गाडीमात्रै चलाएर नहुने पनि बताए। त्यसको लागि व्यवसाय, रेष्टुरेन्ट, संघ-संस्था पनि सँगसँगै चल्नुपर्ने बताए।
उनले भने। ‘हामीले गाडीमात्रै बेलुकी चलाएर हुँदैन। बेलुकी चलाउनलाई चढ्ने मान्छे पनि त राखिदिनुपर्यो, भनेको कुनै पनि व्यवसाय, रेष्टुरेन्ट तथा संघ संस्था बेलुकीसम्म चलाउन वातावरण बनाउनुपर्यो,’