दाङ । दाङको घोराहीमा बालविवाह भइरहेको स्थानबाट ६ जना पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका १६ बरधन्ने गाउँमा बालविवाह भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले विवाह मण्डपबाटै दुलाहासहित ५ जनालाई पक्राउ गरेको हो ।
माघ २६ गते यसरी कम उमेरकी बालिका विवाह गर्ने घोराही २ रामपुरका २५ वर्षीय सन्तोष परियारसहित ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
१४ वर्षीया बालिकाको विवाह हुन लागेको थाहा पाएपछि प्रहरी विवाह भइरहेको स्थानमा पुगेको र दुलहासहित विवाह गराउने कार्यमा संलग्न बालिकाका आमाबुवा पक्राउ परेका छन् ।
त्यस्तै बेहुलाका आमा ४५ वर्षीया शर्मिला दमाई, बेहुलाका काका ३२ वर्षीय मोहन दमाई र सहयोगी ४० वर्षीया सीता नेपाली पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिएका छन् ।
उनीहरूलाई माघ २७ गते जिल्ला अदालतबाट म्याद लिई बालविवाहसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको छ ।
प्रहरीले घटना आइतबार मात्रै सार्वजनिक गर्दै सुरक्षाका लागि बालिका र उनका आमाबुवाको परिचय गोप्य राखेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १७३ मा २० वर्ष नपुगी विवाह गर्न नहुने व्यवस्था छ ।
onlinekhabar