जुम्ला । जुम्लाको पातारासी गाउँपालिका विकास निर्माणको कामदेखि सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउँदै गएकाे छ। गाउँपालिकाले अर्ध वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम मार्फत आर्थिक वर्ष २०७८-०७९ मा भौतिक पुर्वधारतर्फ करिब २ सय ६ वटा विकासे योजनाको कामलाई सकाएको जनाएको छ।
आर्थिक वर्षमा सञ्चालित योजना र बजेटबारे जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले सोही योजनाका लागि करिब १९ करोड १८ लाख ६३ हजार ६ सय खर्च भएको बताए । गत वर्षमा २० करोड ९५ लाख ३ हजार २ सय खर्च भएको थियो । तुलनात्मक रूपमा ८ प्रतिशतले बजेट बढी हो । योजना सङ्ख्याको आधारमा ९८ प्रतिशत योजना सम्पन्न भएका छन् । १ प्रतिशत क्रमगत र १ प्रतिशत फ्रिज गएको छ ।
योजना बजेटको आधारमा ८४ प्रतिशत योजना सम्पन्न र १२ प्रतिशत क्रमगत र ४ प्रतिशत फ्रिज गएको प्रमुख प्रशासकीय अधिकृत धितालको भनाइ छ। आ. २०७७-०७८ मा पनि सम्पन्न भौतिक पूर्वधारतर्फ दुई सय ३२ योजना निर्माण भई सम्पन्न भएका छन् । आ.ब. २०७८-०७९ मा सञ्चालित योजना र जम्मा बजेटतर्फ वित्तिय समानिकरणतर्फ अध्यक्ष,उपाध्यक्ष विकास कोषमा ५ प्रतिशत, प्रधामन्त्री रोजगार सेवा केन्द्रका लागि ८ प्रतिशत, मुख्यमन्त्री रोजगार कार्यक्रमतर्फ ७ प्रतिशत, नेपाल जलवायु परिवर्तनका लागि ५ प्रतिशत, सङ्घ सरकारको सशर्त समपूरक र विशेष अनुदानबाट २३ प्रतिशत, एक स्थानीय तहमा एक खेल मैदान, कृषि शाखा पातारासी ,बहुक्षेत्रिय पोषण कार्यक्रममा १ प्रतिशत , प्रदेश सरकार सशर्त समपूरक र विशेष अनुदानबाट २५ प्रतिशत, उच्च पहाडी एवं हिमाली क्षेत्र समुद्धी कार्यक्रमका लागि ५ प्रतिशत, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि २ प्रतिशत र वित्तीय समानीकरण तर्फ १९ प्रतिशत बजेट रहेको छ ।