जनकपुरधाम: निर्माण व्यवसायीले भुक्तानी माग्दै मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय घेराउ गरेका छन् ।
काम गरेको वर्षौं बितिसक्दा समेत भुक्तानी नपाएकोले बाँकी रकम चाँडै भुक्तानी गर्न मागसहित व्यवसायीले मन्त्रालय घेराउ गरेका हुन्। विगतका आर्थिक वर्ष प्रदेश सरकारले गरेका कामको दुई वर्ष बित्दा पनि भुक्तानी नभएपछि बाध्य भएर मन्त्रालय घेराउन गर्नुपरेको निर्माण व्यवसायी खुशीलाल ठाकुरले बताए।
काम सम्पन्न गरेको वर्षौं बितिसक्दा आफूले पाउने पैसा नपाएको तर बैंकको व्याजले दबाब बढ्न थालेपछि सरकारलाई गरिएको खबरदारी सुनुवाइ नहुँदा घेराउ गर्नपरेको उनले बताए। उनले ठेक्का लिएको काम पूरा गर्न बैंकबाट लिएको ऋणको व्याज मात्र महिनाको ८० हजार तिर्नुपरेको उनले सुनाए।
भौतिक पूर्वाधार मन्त्रालयसहित विभिन्न मन्त्रालयको ४१ योजनाको रकम भुक्तानी गर्न बाँकी छ। भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले उपभोक्ता समिति तथा निर्माण व्यवसायीहरुले भुक्तानी पाउनुपर्ने बताउँदै आवश्यक प्रक्रिया पुर्याएर सबैको भुक्तानी गरिने बताए।
मधेस प्रदेश सरकारका अन्य मन्त्रालयको विभिन्न उपभोक्ता समितिको करिव १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।