काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रतिनिधिसभाको प्रमुख विपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा सुनुवाइ जारी छ।
रिट निवेदनमाथि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा भइरहेको छ।
कांग्रेस संसदीय दलको नेता देउवा हुन नसक्ने दावीसहित मंगलबार रिट दर्ता भएको थियो। रिटमा उत्प्रेषणको आदेशद्वारा विपक्षी दलको नेता नबनाउन माग गरिएको छ। अधिवक्ता विमलप्रसाद पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा विश्वासको मत दिएकाले देउवा प्रमुख विपक्षी दलको नेता बन्न नसक्ने भन्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए।
रिटमा संसद सचिवलाय,प्रतिनिधिसभा सभामुख,संवैधानिक परिषद र नेपाली कांग्रेस संसदीय दल सिंहदरबारलाई प्रतिवादी बनाइएको छ। नेमकिपाका नेता प्रेम सुवालले सरकारलाई समर्थन नगरेकाले प्रतिनिधिसभाको विपक्षी दलको नेता आफूलाई बनाउन माग गरेका छन्।