चिली । चिलीको दक्षिणी मध्य भागस्थित जङ्गलमा डढेला लाग्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ । अत्यधिक गर्मीबीच लागेको डढेलोका कारण २३ जनाको मृत्यु भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् । “डढेलोमा ज्यान गुमाउने २३ जनाको निधनप्रति हामी शोक व्यक्त गर्दछौँ,” उपगृहमन्त्री म्यानुअल मोन्साल्वेले भने । “प्रारम्भिक रिपोर्टमा डढेलोमा परी कम्तीमा ९७९ जना घाइते भएका जानकारी प्राप्त भएको छ,” उनले बताए ।
मोन्साल्वेका अनुसार शनिबार पनि २३२ स्थानमा डढेलो सक्रिय रहेको थियो । जसमध्ये १६ स्थानको डढेलो अझै निभाउन सकिएको छैन । राष्ट्रपति गेब्रियल बोरिकको सरकारले अरौकानियाको दक्षिणी क्षेत्रलाई समावेश गरी ‘सङ्कटकालीन अवस्था’ को विस्तार गरेको छ । नुबल र बायोबियोका क्षेत्रहरूलाई प्राकृतिक विपद् क्षेत्रका रूपमा हेर्ने गरिएको छ । ‘ मृतकहरूको सङ्ख्या बढ्दै गइरहेको यस अवस्थामा सङ्कटकालीन अवस्था’ को विस्तारले बोरिकलाई आगोसँग जुध्न सेना परिचालनका लागि मार्ग प्रशस्त भएको छ ।