धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शपथ लिएको तीन हप्ता बितिसके पनि विश्वासको मत लिने दिनको टुङ्गो अझै लाग्न सकेको छैन । मुख्यमन्त्री बनाउँदा समर्थन गर्ने चार मध्यको एक दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने वातावरण बनिनसकेको भनेपछि विश्वासको मत लिने दिनको टुङ्गो लाग्न नसकेको हो ।
विश्वासको मतका लागि वातावरण तयार गर्न सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रबहादुर रावल दोस्रो पटक काठमाडौँ गएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको लगत्तै मुख्यमन्त्री रावल काठमाडौँ गएर नागरिक उन्मुक्तिका नेता, प्रधानमन्त्री र एमाले अध्यक्षसँग भेट गर्दै विश्वासको मतका लागि वातावरण बनाउन आग्रह गरेका थिए । तर अझै पनि विश्वासको मत पाउने वातावरण नभएपछि मुख्यमन्त्री रावल बिहीबार दोस्रो पटक संघीय राजधानी गएका हुन् ।