पोखरा । केही समययता एकाएक पर्यटकको चहलपहल घटेपछि पोखरेली पर्यटन व्यवसायीलाई चिन्तित बनाएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा पर्यटन लक्षित पूर्वाधारको लगानीमा हौसिएका पर्यटन व्यवसायीलाई यतिखेर कम हुँदै गएको पर्यटकको आगमन र बढ्दो बैंकको ब्याजदर समस्या बनेको छ ।
पर्यटकीय राजधानीको उपमा पाएको पोखरा माघ १ गते भएको विमान दुर्घटना पछि सुनसान प्रायः छ । काठमाडौँपछि उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने पोखरामा कोरोना कहर पछि भने पर्यटकको आगमन बढ्ने आशा पलाएको थियो । अङ्ग्रेजी नयाँ वर्षका बेलामा आसपासमा स्वदेशी एवम् विदेशी पर्यटकले खचाखच भरिएको पोखरामा पर्यटनको आशा जगाए पनि एकाएक भएको विमान दुर्घटनाले यतिखेर सुनसान बनाएको हो ।