काठमाडौँ । निर्वाचन आयोगले २५ फागुनमा राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँग दलहरूमा राष्ट्रपतिको उम्मेदवारबारे चर्चा सुरु भएको छ ।
सत्ता पक्षमा राष्ट्रपतिको उम्मेदवारबारे अन्योल भइरहेका बेला प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले भने राष्ट्रपतिका लागि सम्भावित चार जनाको नामअघि सारेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले केही दिनअघि बसेको पदाधिकारी बैठकमा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम राष्ट्रपतिका लागि अगाडि सारेका थिए । नागरिक अगुवाहरूले दलित वा जनजातिबाट राष्ट्रपति बनाउनु उपयुक्त हुने सुझाव नेताहरूलाई दिने गरेका छन् ।