काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले सत्तामा रहेका दलहरुबीच भएको एमालेलाई राष्ट्रपति बनाउने सहमती कार्यान्वयन हुने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा नेकपा एमालेले अघि सार्ने उम्मेदवारको विकल्प खोज्ने संकेत गरेको बेला एमाले नेता रिजालले यस्तो बताउनुभएको हो ।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै शक्ति उसमै केन्द्रित हुने भन्दै त्यसको विकल्प खोज्ने संकेत गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले भन्नुभयो, ‘अहिलेको सरकार बन्दाखेरी गत पुस १० (०७९ पुस १०) गते हाम्रो पार्टीको अध्यक्ष(केपी शर्मा ओली) को निवासमा जे सहमती भएको छ । सोहि सहमती अनुसार गठबन्धनको सरकार बनेको छ । प्रदेशका सरकार बनेका छन्, प्रतिनिधिसभाका सभामुख, उपसभामुखको चयन भएर एउटा सरकार निर्माणको स्थिती बनेको छ । त्यसैको श्रृखला अन्तर्गत राष्ट्रपतिको निर्वाचन राष्ट्रपतिको निर्वाचन रहेको छ । राष्ट्रपति नेकपा एमालेको तर्फबाट प्रस्तावित उम्मेदवार हुने भन्ने हामीबिचमा पहिले नै सहमती छ । यस विषयमा आपसमा औपचारिक, अनौपचारिक ढंगले आफ्नो पार्टीभीत्र छलफल हुने कुराले हामीलाई केहि पनि असर गर्दैन । सत्तामा रहेका दलहरुबीच एमालेलाई नै राष्ट्रपति बनाउने सहमती भएको छ त्यो कार्यान्वयन हुन्छ । ’
यस्तै नेता रिजालले प्रचण्डले गरेको नयाँ राष्ट्रपतिमा नेकपा एमालेले अघि सार्ने उम्मेदवारको विकल्प खोज्ने संकेतको विश्वास नलागेको स्पष्ट पार्नुभयो । पहिलाको सहमतीअनुसार धोका दिएको नेपाली कांग्रेससंग माओवादी केन्द्र झुक्छ जस्तो आफूलाई नलागेको पनि नेता रिजालको भनाइ छ ।
नेता रिजालले सरकारलाई विश्वासको मत हासिल गर्न नदिनका लागि धेरै कोशिस गर्दा पनि सफल नभएपछि सरकार अस्थिर बनाउन र गठबन्धनको बीचमा अविश्वास सिर्जना गर्न मात्रै कांग्रेसले विश्वासको मत दिएर बिगार्न खोजेको दाबी गर्नुभयो । नेपाली काग्रेसको अहिलेको सरकार भत्काउन लागिपरेको आरोप समेत उहाँले बताउनुभयो ।