धनगढी- सोमबारदेखि कैलालीको धनगढीबाट श्रम स्वीकृतिको कार्य सुरु भएको छ। काठमाडौं केन्द्रित वैदेशिक रोजगारसम्बन्धी सबै प्रकारका सेवाहरू सोमबारदेखि सुदूरपश्चिम प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट दिन सुरु गरिएको हो।
आजदेखि धनगढीको श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाह सुरु गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले धनगढी र सुर्खेतबाट सेवा प्रवाहको शुभारम्भ गरेका छन्। यसअघि धनगढीमा तयारी नपुगेको भन्दै केही दिनलाई पर सारिएको थियो। कर्मचारीहरूलाई तालिम दिने, आवश्यक स्रोत साधनको व्यवस्थापनको काम सकिएपछि आजदेखि वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाह गर्न सुरु गरिएको हो।
अबदेखि वैदेशिक रोजगार कार्यालय ताहाचलका अतिरिक्त श्रम तथा रोजगार कार्यालय धनगढीबाटै सेवा प्रवाह हुनेछ। श्रम तथा रोजगार कार्यालयलबाट अनलाईनमार्फत संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रवाह हुनेछ। श्रम स्वीकृतिका लागि समयमा नै अनलाइन आवेदन गर्न र श्रम स्वीकृति प्राप्त भएपछि मात्रै हवाई टिकट खरिद गर्न सकिने छ।
आफ्ना सेवाहरू पेपरलेस, फेसलेस र क्यासलेस बनाउँदै लैजाने रणनीति बनाएको छ। मन्त्रालय तथा अन्तर्गतका निकायबाट प्रदान गरिने सेवालाई बढी पारदर्शी, व्यवस्थित एवं नागरिकमैत्रीका अतिरिक्त छिटो, छरितो र सूचना–प्रविधियुक्त बनाउँदै लगरिएको दाबी छ। अनलाइन आवेदन मार्फत तीन दिनभित्रमा श्रम स्वीकृति प्रदान गर्दै आएको छ। आवेदन दिएको तीन दिनभित्रमा श्रम स्वीकृति प्रदान गर्ने वा रिजेक्ट गर्ने जानकारी दिइसक्नुपर्ने कानुनी व्यवस्था छ।