जुम्ला । जुम्लामा सशस्त्र प्रहरीले आगलागी नियन्त्रण सम्वन्धमा सचेतना मुलक डेमो प्रदर्शन गरेको छ। सशस्त्र प्रहरी बल ३३ नम्बर गणले आफ्नो २२ औं स्थापना दिवशको पूर्वसन्धाहमा चन्दननाथ नगरपालिका वडा नम्बर १० गैरागाउँमा नमुना आगलागी भएको घरमा नियन्त्रण तथा आगो निस्किएको ग्यास सिलण्डिर निभाउने बिषयमा सचेतना कार्यक्रम गरेको हो।
घरमा लागेको आगो नियन्त्रण कसरी गर्ने, घरमा भएका मानिसहरुलाई कसरी उद्धार गर्ने बिषयमा अभ्यास गरि सर्वसाधारणलाई सचेतना गरिएको थियो । घरमा कुनै कारणले ग्यास लिग भइहाले नियन्त्रण कसरी गर्ने भनेर अभ्यास पनि गरिएको सशस्त्र प्रहरी ३३ नम्बर गण जुम्लाका गणपति चित्रांगत दाहालले बताए।
उनले सामान्य सचेतना नहुँदा घरमा ग्यास सिलण्डिर लिक हुँदा ठूलो दुर्घटना हुने गरेको उनको भनाइ छ । सिलण्डिर लिक हुँदा नडराई अक्सिजन नआउनेगरी कपडाले ढाक्दा आगलागी हुनबाट बच्न सकिने उपायका बिषयमा सचेतना गरिएको उनले बताए । वडाध्यक्ष नवराज शाहीले आगलागी नियन्त्रण सम्बन्धमा सचेतना कार्यक्रम पहिलो पटक गरिदिएकोमा सशस्त्र प्रहरी बल जुम्लालाई धन्यवाद दिए ।
उनले यस्ता कार्यक्रमहरु नियमित हुन आवश्यक भएकोमा जोड दिए। प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले सशस्त्र प्रहरीले स्थापना कालदेखि शान्ति सुरक्षा, सीमा सुरक्षादेखि विपत व्यवस्थामा ठूलो योगदान पुर्याएको बताए ।
सशस्त्र प्रहरीका अनुसार जुम्लामा पछिल्लो समयमा ५ वटा ठूला आगलागीका घटना भएका छन । चन्दननाथमा ३, तातोपानी गाउँपालिकामा १ र तिला गाउँपालिकामा १ घटना भएका सशस्त्र प्रहरीले जनाएको छ ।