५ माघ, काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठिक ढंगबाट गर्ने बताएका हुन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकबाट सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले सभामुखमा रहँदा निष्पक्ष र तटस्थ भमिकामा आफू कार्यसम्पादनमा लाग्ने बताए।
उनले विगतबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाएर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले भने, ‘म निष्पक्षताका साथ सभा सञ्चालनमा लाग्नेछु । प्रतिनिधि सभाको प्रतिनिधित्व ठीक ढंगले गर्नेछु । विगतका सभामुखहरुको कामबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाउन लाग्नेछु ।’
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन् ।
कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गरेका थिए ।